हरिहरपुरगढीसँग जोडिएका ऐतिहासिक ब्यक्तित्वहरु

सागर कुमार ढकाल




देवलदेवी र तुलजा भवानी  


सिम्रौनगढ राज्यबाट पदच्यूत भई सिन्धुलीको हरिहरपुरगढी र मरिणखोला उपत्यकामा वस्दै आएकी तत्कालिन सिम्रौनगढ राज्यका राजा हरिसिहदेवकी रानी देवलदेवीको मध्यकालिन राजनीतिमा ठूलो योगदान छ । दिल्लीका सुल्तान गयासुद्घिन तुगलकले आफ्नो राज्य ध्वस्त वनाएर राज्यच्यूत गराएको पिडामा भाव विह्वल भएकी सिम्रौनगढकी तत्कालिन महारानी देवलदेविले तुलजादेवी भाकेर “ यो पापी सुल्तानले मेरो राज्यमा खुट्टा राख्न समेत नपाओस” भनेर श्राप दिएकी थिइन् । वास्तवमा लडाई जितेको खुशियालीमा स्वागत तथा अभिनन्दनको लागि भाईभारदार वसेको महल भत्केर सुल्तान गयासुद्धिनको तत्कालै मृत्यू भएको कुरा इतिहाँसमा छ । भारतको इतिहास

देवलदेवी कुन खान्दानसँग सम्बन्धित थिइन् भन्ने कुरामा इतिहासकारहरुमा नै मतैक्यता छैन । यीनी उपत्यकाकै राजकुल घरानाकी हुन सक्ने कुरामा वहुमत राय भएपनि यीनको काठमाण्डौका राज परिवारसँगको सम्बन्धको बारेमा नेपालको इतिहासमा अत्यन्त पृथक पृथक ब्याख्याहरु पाइन्छ ।

पंडित वदरीनाथ भट्टराईको नेपालको ऐतिहासिक कहानी (साझा प्रकाशन, दोश्रो संस्करण) मा देवलदेवीलाई काठमाण्डौका तत्कालिन राजा रुद्र मल्लको पत्नी भनिएकोछ भने इतिहासकार ज्ञानमणि नेपालको लेखमा ( गरिमा पुर्णाङ्क १३९ आषाढ २०५१) देवलदेवीलाई रुद्र मल्लकी वहिनी भनिएकोछ । देवलदेवी र काठमाण्डौ उपत्यकाका राजाहरु सँगको नाता सम्बन्धको अन्यौलतालाई अझ अन्धकार बनाउने काम भने नेपालको तथ्य इतिहास ( डा. राजाराम सुवेदी, साझा प्रकाशन दोश्रो संस्करण २०६५) मा समेत भएकोछ । यसमा देवलदेवीलाई रुद्र मल्लकी पत्नी भनिएकोछ । विद्यालयका इतिहासहरुमा यीनलाई काठमाण्डौकी राजकुमारी भनिएकोछ । २१
इतिहास कक्षा ९ ( जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रथम संस्करण २०५६ )


देवलदेवीले नै सिम्रौनगढबाट आफुसाथ ल्याइएकी तुलजा भवानीको मुर्ति उपत्यकाको दरवारमा ल्याईएकी थिइन । तुलजा भवानी साथमा वोकेर हिडदा जुन जुन स्थानमा यीनलाई लिएर हिडिन्थ्यो ती स्थानमा उनैका मन्त्री चण्डेश्वरले देवी स्थान स्थापना गर्ने चलन रहेको कुरा विश्वास गरिन्छ । पञ्चकन्या, चण्डादेवी, कोइलादेवी, रक्तमालादेवी, पाटनदेवी, चण्डेश्वरी जस्ता देवीस्थलहरु तुलजा भवानीलाई राखिएको स्थान हो । अन्तमा यी देवी उपत्यकामा तलेजु भवानीको नामले स्थापित भइन । यी भवानी डोय राज्य (सिम्रौनगढ राज्य) बाट लगिएको हुनाले नै यीनलाई डोयमाजु पनि भनिन्छ ।  

नाता सम्बन्धले जे भने पनि यीनी काठमाण्डौका तत्कालिन शाही खान्दान सँग सम्बन्ध भएकी ब्यक्तित्व हुन भन्ने कुरामा सन्देह भने छैन ।
जगत सिं


तत्कालिन सिम्रौनगढ राज्यका राजा हरिसिहदेवकी र रानी देवलदेवीको एक मात्र सन्तानको रुपमा  जगत सिं देखिएकाछ्न । यी युवराज मार्फत नै काठामण्डौको शाही पारिवारिक सम्बन्ध मोफसलको (सिम्रौनगढ) राज्यमा सरेको हो । रुद्रमल्लको दरवारमा शरण लिएका देवल देवी  र जगत सिं र राजपरिवार एकै परिवारमा झैं वस्तै आइरहेको समयमा रुद्र मल्लको निधन भयो । त्यस पछाडी रुद्र मल्लकी आमा पदुमलदेवीले रुद्र मल्लकी छोरी नायक देवीको हेर विचार गर्दै आइन र भारतबाट हरिश्चन्द्र नामका ब्यक्तिसँग विवाह गरिदिइन तर हरिश्चन्द्रको विष प्रयोगबाट मृत्यू भयो । यी नायकदेवीको दोश्रो विवाह दरवारमै रहेका जगत सिं सँग भयो र राजल्लदेवीको जन्म भयो । कालान्तरमा यी राजल्लदेवीको विवाह जयस्थिति मल्लसँग भयो । यसरी सिम्रौनगढको राज वंशको शुरुवात उपत्यकाबाट हुन गएको हो ।

चण्डेश्वर र गढीमाई मन्दिर

चण्डेश्वर सिम्रौनगढ राज्यका राजा हरिसिह देवका विश्वासपात्र मन्त्रि थिए । यीनी वीर, धार्मिक आस्थाबाट अभिप्रेरित र देवीभक्त थिए । यीनले हरिसिह देवको शासनकालमा काठमाण्डौमा हमला गरेका थिए । यीनले त्यहाँ लुटेको धनमाल लिएर सिम्रौनगढ फर्किनु भन्दा पनि पशुपतिनाथमा नै तुलादान गरेका थिए । पशुपतिलाई हातले छोई पुजाआजा पनि गरेका थिए भन्ने सन्दर्भ इतिहासमा छ । यीनले पञ्चकन्या पोखरी, चण्डादेवी, रक्तमालादेवी, पाटनदेवी, वनेपाको चण्डेश्वरी जस्ता देवीस्थलहरु स्थापना गरिएका थिए ।

हरिहरपुर गढीमा गढीमाई मन्दिर छ । यो मन्दिर वारा जिल्लामा भएको गढीमाई सरह पुरानो र समकालिन हो । सिम्रौनगढी राज्य ध्वस्त भएपछि भागि आएका राजा र भारदारहरुले आफुले बोकी आएका पुज्य देव देवीहरुको मुर्ति ठाउँ ठाउँमा प्रतिस्थापन गर्ने सन्दर्भमा यो मन्दिर पनि हरिहरपुर गढी क्षेत्रमा प्रतिस्थापित गरिएको हो । २१
स्व. बासुदेव श्रेष्ठ सिन्धुलीको जानकारी २०३९ गाउँ पञ्चायत चिनारी



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top